व्यवसायिक किट विकास फार्म, भण्डाराको स्थापना रेशम खेती विकास कार्यालयको नामले वि.सं. २०४९ सालमा भएको हो। विभिन्न समयमा यस केन्द्रको नाम र संरचनामा परिवर्तन हुने क्रममा कार्य प्रकृतिका आधारमा वि.सं. २०६१ सालमा किम्बु नर्सरी व्यवस्थापन केन्द्रको रुपमा नाम परिवर्तन भई रेशम खेती विकासका विभिन्न पक्षहरुमा कार्यक्रम संचालन गर्दै आएको थियो। हालको संघिय संरचनामा बागमती प्रदेश अन्तर्गत रहेको यस कार्यालयको नाम वि.सं. २०७५ सालमा पुनः परिवर्तन भई किम्बु नर्सरी विकास केन्द्र राखिएको थियो।हाल बि.सं. २०८०/०७/२२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निर्णय अनुसार यस केन्द्रको कार्यप्रकृति र विधाअनुसार जिम्मेवारी हेरफेर तथा वृद्धि गर्ने उद्देश्यका साथ नाम परिवर्तन गरि व्यवसायिक किट विकास फार्म भएको छ। जिल्ला सदरमुकाम भरतपुरबाट २५ कि.मि. पूर्व र महेन्द्र राजमार्ग देखि उत्तर तर्फ चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६, हर्दी, भण्डारामा अवस्थित रहेको छ। फार्मको जम्मा ३२.२ हेक्टर क्षेत्रफल मध्ये हाल करिब १६ हेक्टर जमिन र भवनहरु समेतका पूर्वाधार शसस्त्र प्रहरी गढीमाई गणद्धारा उपभोग भई रहेको छ भने यस केन्द्र अन्तर्गत रहेको बाँकी १६.२ हेक्टर जमिन मध्ये ३ हेक्टरमा मौरीपालन विकास कार्यक्रम, ५ हेक्टरमा किम्बु बगैंचा, ४ हेक्टरमा किम्बु नर्सरी, २ हेक्टरमा फलफुल बगैंचा, १.२ हेक्टरमा कार्यालय तथा आवास भवन  र १ हेक्टर बाँझो रहेको छ।

केन्द्रको रणनीति

  • सम्भावित क्षेत्रमा किम्बुमा आधारित रेशम खेती विस्तार एवं विकास गरि स्वरोजगारी सिर्जना तथा अतिरिक्त रोजगारीको विकास गर्ने।
  • संभाव्यताको आधारमा उपोष्ण रेशम खेतीको विकास गरि निर्यात प्रवर्धनको लागि रेशम कोया तथा रेशम जन्य उत्पादनमा जोड दिने।
  • रेशम खेतीमा स्थुल उत्पादन (Mass production) का साथै रेशम उत्पादनमा सामुदायिक संलग्नताको विकासमा जोड दिने।
  • स्थानिय श्रोत साधन तथा प्रविधिहरुको सदुपयोग र परिमार्जन गर्दै रेशम उत्पादन वृद्घि गरी रेशम उद्योग विकासको माध्यमवाट ग्रामीण आयआर्जन र स्वरोजगारी सिर्जनाको लागि जोड दिने।

 

पकेट/प्रभाव क्षेत्र

चितवन र मकवानपुरका विभिन्न स्थानिय तहहरुमा रेशम खेती, किम्बु क्षेत्र विकास र विस्तार तथा च्याउ खेतीको लागि केन्द्रले आफ्ना गतिविधि संचालन गर्दै आईरहेको छ। विगतमा चितवनको माडीमा कल्याणपुर, अयोध्यापुरी, बघौडा र चैनपुर तथा मकवानपुर जिल्लाको सरिखेत, निवुवाटार, वुढीचौर, कोगटे र कालिकाटारका कृषकहरु रेशम खेती व्यवसायमा आवद्ध थिए।